डडेलधुरामा आलु खेतीः मेरो एक संक्षिप्त अवलोकन

 

डडेलधुरा आएपछि आजै होला बिहानै ६ बजे उठेको ।घरको छतबाट तल हेर्दा देखिने त्यो सम्म फाँट, बिहानको तुसारोले सेताम्मै थियो । सोचे यस्तो राम्रो फाँट रहेछ तर तुसारोले के नै बाली हुनदेला र? मेरो अनुमानको विपरित, त्यहाँ किसानले राम्रो बाली भित्र्याउने गरेका रहेछन् । सुनेर अचम्म लाग्यो । मनमनै हाँसे पनि, यो सोचेर कि अनुमान लाउने गरि परिपक्क अझै भएकि रहेनछु ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाईमा इन्टनसिपको आज सातौ दिन । फिल्ड भिजिटका लागि जानुपर्ने र फिल्ड रहेछ- डोटी घटाल, त्यहि तुसारोले छोपिने सम्म फाँट । हामी ४ जाना थियौँ- म, मनिषा, गंगा अनि सावन । अटोमा जाने निधो गर्यौँ। दाम सुनेर हिडेर जादै ठिक होला झै लाग्यो तर ७-८ किलोमिटर छ भने पछि लुरुक्क अटो मै बस्यौँ । पोखराको सिटिबसले १५ रूपैँयामा पुर्याइदिन्थ्यो तर डडेल्धुराको अटोलाई भने ६०० रुपैँया तिरियो । मनखत त लाग्यो तर बाटोमा देखिने त्यो रमणिय दृश्य देखेर हामी मख्ख भयौँ । लालीगुँरासले सझिएको त्यो पाखोको साघुरो बाटो, जस्लाई सल्लाका रूखले पङ्क्तिबद्द भएर डोराउदै पहाडका ति टेरेस फार्मलाई लगेर डोटि घटालको सम्म फाटमा जोडेको थियो । अटोमा गित बझिरहेको थियो "हजुरलाई जाडो भा होला मेरो पछ्यौरि लिसो"। अरु बेला झिजो लाग्ने त्यो गित, त्यो बाटोमा भने मज्जा लिएर सुनेँ।

घटाल थानमा झरेर हामी खेती हुने फाँटतिर हिड्यौ । यति बेला फाँटमा मुख्य बालिको रुपमा आलु लगाईएको रहेछ। केहि किसान भने लगाउदै हुनुहुन्थ्यो । उँहाहरूसँगको मिठो वार्तलाबमा धेरै कुरा जान्न र बुझ्न पाइयो । पोहोर साल ६५% जग्गामा आलु लगाईएकोमा यस बर्ष भने ९५% जग्गामा आलु खेती भइरहेको कुरा त्यहाका अगुवा किसान, कृष्ण राज बोहोराले बताए । आर्थिक, प्राविधिक तथा यन्त्र उपकरणमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोनले सहयोग गरेपछि किसानहरुलाई आलु खेती गर्ने हौसला बढेको कुरा किसानहरूले बताए। ।त्यसैले नै गहुँ खेती गर्ने यो समयमा किसानहरुले अहिले आलुखेती गरिरहेका छन् । चारैतिर हेँरे, ५००-६०० रोपनिमा फैलिएको फाँट आलुमय थियो । अरू तरकारी केहि देखिन र सोधेँ, " तरकारी चाँहि कता लगाउनु हुन्छ?" उत्तर सुनेर रमाउन त नपर्ने हो तर आफ्नो अनुमान मिलेको भएर मख्ख भए ।उत्तर यस प्रकार थियो," तुसारोले गर्दा यो समयमा केही तरकारि बाली हुदैन ।अब मौसम तातो हुदै जादा तुसारो हराउदै जान्छ र तरकारी पनि लगाउछौँ।"

                                                        

ऐतिहासिक रूपमा यस क्षेत्रमा मुख्यतया पहाडी ब्राह्मण र क्षेत्री / ठकुरीहरूको बसोबास रहेको छ। मानिसहरू यस क्षेत्रमा मुख्य रूपमा धान खेतीमा संलग्न छन्। निकै पहिला जाडो मौसममा यस क्षेत्रका मानिसहरूले बारीमा गहुँ छरेर अस्थायी रूपमा तराई (कञ्चनपुर र कैलाली) मा बसाई सर्ने गर्थे र जाडो सकेर फेरि पहाड आएर गहुँ भित्राउने गर्थे । अहिले भने यस्तो प्रचलन हटेको छ ।  व्यवसयिक आलु खेतीको थालनी भएको भने धेरै समय भएको रहेनछ ।पीएमएएमपी आलु सुपरजोन कार्यक्रमको पहल र प्राविधिक सहयोगमा यस क्षेत्रमा करिब २-३ बर्ष अघि देखि व्यवसायिक आलु खेतीमा थालनी गरेका रहेछन्। यस क्षेत्रका परम्परागत किसानहरुलाई आधुनिक खेती प्रणालीमा ढाल्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ। गोरूले जोतिने त्यो बाझोँ जमिनमा अहिले सुपर जोनको साहयतामा ५०% अनुदानमा भित्र्याएको मिनि टिलर कुदाइरहेका छन् किसान । त्यसै गरि आलुको बिउ पनि सुपरजोनबाट ३०%मै खरिद गरि रोप्दै छन् । "गत वर्ष र यो वर्ष पनि सुपरजोनबाट बिउ आलु ल्यायौँ अब भने सुपरजोनलाई गुणस्तरिय आलुको बिउ उपलब्ध गराउने योजनाका साथ हामी लागिपरेका छौ।", कृष्णाजीले छाती फुलाउदै भन्नुभयो ।

 

यिनै रमाइला कुरै कुरामा, किसानहरूबाट एउटा गुनासो पनि आयो । "हामी किसान ठगिने भनेको बिउमा हो।", कृष्णजीको गुनासो छ । १ रोपनी जतिको खेत देखाउदै भन्नुभयो," त्यो नयाँ जग्गामा लगाएको आलु, बिउ नै नराम्रो परेर आधा भन्दा बढि बोट खेर गयो।" बिउकै कुरा हुदै गर्दा हामी किसानले आलु लगाउदै गरेको खेतमा गयौँ।हामी चारै जनाले एकै स्वरमा भन्यौँ, " ओहो! बिउ आलु त ठुलो भयो त।" काटेर लागाउदा नि एउटै आलुलाई ३ ठाउमा काट्नु पर्ने । त्यसै माथि टुसा पलाएकै थिएन्न् ।किसानले आलु लगाउन निकै हतार गरेझै लाग्यो । बरु १ हप्ता ठिलो लगाउनु तर राम्ररी टुसा पलाएपछि लगाउने सल्लाह दियौँ । तर कतिपय किसानले कति कुरा थाहा भएर पनि हेल्चक्राईँ गरेको पाइयो । जस्तै एक जना किसान खेतमा मल छर्दै हुनुहुन्थयो । हामीले आलु रोप्ने ड्याङमा मात्र मल राख्नुस भनेर भन्दा उँहाले यस प्रकारको प्रतिक्रिया दिनुभयो," थाहा त छ हामिलाई त्यसरी राख्नु पर्छ भनेर । तर यसरी एकै चोटी छर्दा सजिलो अनि छिटो पनि हुन्छ त्यहि भएर यसरी नै छर्छौ।" शिष्ट तरिकाले कसरी सोध्ने मेसो पाउन सकेकि थिइन फ्याट्टै सोधिहाले, "यहाँ कामदारले ज्याला कति लिने गरेका छन्?" उत्तर आयो,"दिनको ५०० रूपैँया।" गज्जबको कुरा त के भने, यहाँ महिला र पुरुष कामदारको ज्याला एउटै रहेछ । सुनेर खुसि लाग्यो।

 

डडेलधुरा जिल्लामा र वास्तवमा देशभरि नै, आलु खेतीमा प्रमुख समस्या र अवरोध भनेको गुणस्तरीय बीउ आलुको उपलब्धता हो।यहाँका अधिकांश किसानहरू प्रत्येक फसल पछि आफ्नै बीउ आलु बचत गर्ने गर्छन्। किसानहरूले बीउ आलु राख्नको लागि परम्परागत भण्डारण अभ्यास अपनाउने हुँदा बीजको दिर्घायु र गुणस्तरमा ह्रास आउने गर्दछ। पछिल्लो समयमा कोल्ड स्टोरको व्यवस्था भएता पनि भण्डार गरिएको आलु राम्रोसँग व्यवस्थित र ग्रेडिंग नगरिएको हुदा धेरै समस्या देखा परेको पाइयो। त्यसै गरि कृषकहरूलाई आपूर्ति गरिएको बीज पनि राम्रोसँग वर्गीकरण गरिएको थिएन र आकार तथा तौल एकसमान थिएन। ठूलो बीउ आलु एकल रोप्न सकिदैन। यसैले किसानहरू टुप्पो काटेर बीउ रोक्न बाध्य भए। यसले बीउमा बिभिन्न प्रतिकूल प्रभाव पार्दछ, जस्तै खेतमा बीउ सड्ने समस्या र विभिन्न रोग तथा विकारहरू।यसरी समस्याहरू केलाउने हो भने सुचि लामै हुन पुग्छ । यी समस्याहरू केही हदसम्म आलु सुपर-जोन प्रोग्रामले सम्बोधन गरेको हुदा किसानहरूलाई केहि राहत भने अवश्य पुगेको छ ।

 

फाँटमा चारैतिर आँखा घुमाए । अलि पर एक जना बुवा हुनुहुदो रहेछ, म उतै लम्किए ।खै के सोचेर हो, सुरू मै बुवाको उमेर सोधेछु । बुवाले पनि कत्ति पनि अफ्टयारो नमानी भन्नु भयो, " बाबु, म त २००१ सालको हुँ, ७७ वर्ष पुगे।" बुवा निकै पहिले देखिकै अगुवा कृषक हुनुहुदो रहेछ । पहिलो पटक बझ्याङ्गबाट आलु ल्याएर खेती सुरू गरेका ती हात आजको दिनमा पनि आलु लगाउन तम्सेका छन् । २०२८ सालमा बुवाले यहि ठाउमा स्याउ फलाउनु हुन्थयो रे भन्ने सुन्दा आश्चर्य लाग्यो । "७० रोपनीमा मेरो एक लौटि बगैँचा थियो। स्याउ, ओखर, आरू, घङ्गगारू, लदाग, खुरपानी जस्ता फलफूल लगाउथे", उहाँले भन्नुभयो। त्यति बेला , मान्छेले हिजोआजका दिनमा जस्तो फलफूल खादैनथे त्यसैले फलले बजार नपाएर बिग्ररेर जाने हुदा बगैँचाबाट सरेर तरकारि बाली तिर लागेको उहाले बताउनु भयो । अन्त्यमा भने बुवाको शुभनाम सोधे-उमेश राज बोहोरा जैशी ।

यस्तै गफगाफमा हाम्रो मुख्य काम नै ओझेल परिरहेको थियो । गफगाफ त बरू पछि नि हुन्छ पहिले आफ्नो रिसर्चको लागि जग्गा हेरौ भनेर हामी कृष्णजी ले देखाएको जग्गा हेर्न गयौ र आ-आफ्नो रिसर्च पलट रोजेर हामी फर्कियौँ । फर्कने माध्यम उहि थियो, चर्को दाम लाउने अटो तर फर्किदा भने २०० रूपैयाको छुटको मज्जा लिदैँ फर्कियौँ।

Comments

Popular posts from this blog

बाहुनकि छोरी

सतीले हैन, किसानले सरापेको देश भनौँ