सतीले हैन, किसानले सरापेको देश भनौँ


 


 

कृषि प्रधान देशमा कृषि पेशालाई हेला किन?

डाक्टर इन्जिनियर सबै बन्ने, नबन्ने चाहिँ किसान किन??

 

 

 

ठुलो मान्छे बन्ने दौडमा अधिकांशले तिरस्कार गरेको पेशा हो, कृषि । त्यसै गरी पढेर ठुलो मान्छे हुनुपर्छ नत्र हलो जुवा जोत्नु पर्छ भनेर हेला गरिएको व्यक्ति हो, किसान । वि.सं. २०७२ को भुकम्प पछि कतिले कृषि क्षेत्रको महत्व अनुभूति गरे भने कतिलाई चाँहि भारतको नाकाबन्दीले चेत खुलायो । त्यस प्रकारको अनुभूति गर्ने र नगर्ने सम्पूर्णलाई भने अहिले कोरोनाको माहामारीले अवश्य झस्काएको छ । मान्छेलाई आज जिउमा एक सरो कपडा हुँदैन कि भन्ने डर छैन तर एक छाक खान पाउँदिन कि भन्ने डर छ । पैसा भएर पनि किनेर खान नपाउने बेला अब नआउला भन्न सकिँदैन । अब गर्ने के ??? यसको उत्तर एउटै छ – कृषि । कृषि अब ती बाझा खेत बारीमा, खाली त्यो कौसीमा, थोत्रो त्यो बाल्टीमा, कोकको खाली बत्तल आदि इत्यादि सबैमा । किन कि कोरोनाको कहरले सिकाएको महत्वपूर्ण पाठ यही नै हो कि कृषिको कुनै विकल्प छैन ।

 

भविष्यमा म एक सफल किसान बन्छु भनेर लक्ष्य राख्ने स्कुले विद्यार्थी सायदै भेटिएला । किनकि हामीलाई सिकाएको नै यही छ- दीन, दुखी र विपन्न वर्गले गर्ने काम हो, कृषि ।सन् २००८ को नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार कृषि क्षेत्रमा आवद्ध जनसङख्या ७३.९ प्रतिशत रहेकोमा सन् २०१८ मा यस्तो जनसङ्ख्या ६०.४ प्रतिशत रहेको छ ।हाम्रो समाजमा सबैलाई ठूलो मान्छे बन्नु छ र त्यो ठूलो मान्छेको सूचीमा किसानलाई राखिँदैन । यस प्रकारको तुच्छ सोचले आज हाम्रो देश र हामी कृषकको दयनीय अवस्था सिर्जना भएको छ । कृषि प्रधान देशका नागरिक हामी, एक छाक खानको लागि अनेक देशको मुख ताक्नु पर्छ । नेपालमा हाराहारी ८० लाख मेट्रिक टन खाद्यान्न उत्पादन भइरहेको छ जब कि हामीलाई वार्षिक ९२ लाख मेट्रिक टन खाद्यान्नको आवश्यक पर्छ ।यसकै फलस्वरूप चालू आर्थिक वर्षको फागुनसम्ममा ४० अर्ब ८२ करोडको खाद्यान्न आयात भएको छ जसमा धान/चामलको हिस्सा ६० प्रतिशत रहेको छ[1]। त्यो किसान, जसले आफूलाई मात्र नभएर अरूलाई पनि खुवाउँछ, त्यो किसान जसले घाम पानी नभनी काम गर्छ, त्यो किसान जसको पसिनाले देशको माटो सिञ्चिएको छ, त्यो किसान किन ठूलो मान्छेको सूचीमा पर्दैन ? सदियौँ देखि नेपाललाई सतीले सरापेको देशभनिँदै आएकोमा अब किसानले सरापेको देश चाहिँ भन्न नपरोस् । त्यसैले त प्रश्नका साथ एउटा बिन्ती बिसाउन चाहेँ- अब चाँहि किसान बन्ने कि ?

 

नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान बाली आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा २.२ प्रतिशतले ह्रास अनुमान गरिएको छ भने तरकारी उत्पादनमा गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ४.३ प्रतिशतले ह्रास आउने अनुमान गरिएको छ[2] । रोजगारीको खोजीमा गाँउका खेत बारी बाँझै राखेर सहर पसेका अधिकांश व्यक्ति वर्षौँ पछि आज फेरि गाँउ फर्किएका छन् । ऋण खोजेर काखमा पासपोर्ट च्याप्दै विदेशिएका युवाहरू रोजगार गुमाएर रित्तो हात नेपाल फर्किन विवश छन् । वर्षौँदेखि बाँझिएका ती जमिनलाई पुनः हराभरा बनाउने एउटा दिगो अवसर हामीलाई कोरोनाले दिएको छ । गरे सकिन्छ, बाँच्नका लागि अब अरूको मुख ताक्न नपरोस्, यस्तो दिन अवश्य ल्याउन सकिन्छ ।

म कृषि सम्बन्धी बिद्यार्थी भएको नाताले सम्पूर्ण नेपालीलाई अनुरोध गर्छु कि अब आफ्नो खाद्यान्न आफैँ फलाऔँ। सकेसम्म व्यवसायिक र नगदे बाली आजैबाट खेती गरौँ । कृषि र कृषकलाई हेय भावले हैन, सम्मान प्रकट गरौँ। कृषि सम्बन्धी साधारण ज्ञान हासिल हुने खालको कृषि शिक्षाको पाठ्यक्रमलाई विद्यालय तहमा अंगीकार गरौँ। भूमिको उत्पादन र उत्पादकत्व बढाउन प्रविधिको प्रयोग गरौँ। खेतीयोग्य जग्गामा बस्ती नबसालौँ। कृषकलाई राहत र क्षतिपूर्ति दिन अनुदानमा कृषि मल र अनिवार्य कृषि बीमा हुने व्यवस्था गर्न सरकारलाई दबाब दिऔँ। खेतीको विविधिकरण र व्यावसायिकरण गरौँ। आयात न्यूनीकरण र निर्यात प्रबर्धन हुने बालीको पहिचान गरी आजैदेखि खेती गरौँ। बाँझो जमिन नराखौँ। खेती योग्य जमिनको चक्लाबन्दी गरौँ। खेतीको आधुनिकीकरण गरौँ। जमिन र लगानी प्रशस्त हैन, सोच प्रशस्त राखौँ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमश : घट्दै गइरहेको छ । आर्थिक वर्ष २०६७/६८ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३७.१ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा यसको योगदान २७.७ प्रतिशत रहने अनुमान गरिएको छ[3] यस तथ्याङ्कले समेत नेपालको कृषि उत्पादनमा निरन्तर ह्रास आई परनिर्भरता बढेको प्रष्ट हुन्छ। त्यसैले, राज्यको कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान महत्वपूर्ण बनाऔँ। कृषि र कृषकको पेशालाई हेर्ने आम चेतनामा परिवर्तन ल्याऔँ। सम्मानित भएर सम्मानपूर्वक बाँचौँ।

कृषि प्रविधिको विकासले परम्परागत खेतीको बिकल्पमा, कौसी खेती[4], बोरामा गरिने खेती[5],थोरै जमिनमा ठाडो वा चाङ लगाएर गरिने खेती[6], पानीमा गरिने खेतीप्रणाली[7], हावामा गरिने खेती प्रणाली[8] समेत प्रयोगमा आइसकेको छ। सहरका ती कंक्रिट भवनका कौसी, बोरा, पुरानो बाल्टी, बोत्तल आदिमा माटो भरेर काँक्रो, घिरौंला, करेला, लौका, फर्सी,  टमाटर, खुर्सानी र कागती लगाउन सकिन्छ। त्यसपछि न कोरोना को डर न त भारतको नाकाबन्दीकै । तपाईँको परिवारले बजारबाट कहिल्यै किनेर खानुपर्ने छैन।भान्छाबाट निस्कने फोहोर कुहाएर आँफै फलफूल तरकारी लगाएपछि न महङ्गीको डर न रसायनिक मलको न विषादीको। कौसी खेती भनेर कौसीमा मात्र गरिने चाँहि हैन । घरको बरण्डा देखि लिएर कम्पाण्डको थोरै जमिनकिचेन गार्डेनमा कैसि खेति हुन सक्छ । काँक्रा, घिरौला, फर्सी जस्ता लहरे तरकारी  लगाउने हो भने कम्पाउण्डका वालमा पनि लगाउन सकिन्छ

त्यसै गरी हाइड्रोपोनिक्स प्रणाली, जसमा बिरुवालाई चाहिने विभिन्न पोषक तत्त्व पानीमा समावेश गरी उक्त पानीमा खेती गर्न सकिन्छ । यसरी बाली लगाउँदा माटोको आवश्यकता पर्दैन र थोरै ठाउँबाट पनि धेरै बाली भित्र्याउन सकिन्छ ।कृषि भनेको खेतबारी, कुटो कोदालो, हलो जुवा मात्र बुझ्ने हाम्रो समाजलाई माटो बिना पनि खेती गर्न सकिने कुरा अचम्म लाग्ला। अझ एरोपोनिक्स प्रणाली, जसमा कुनै माटो वा पानीको सतह बिना हावामै जरा छोडेर पनि खेती गर्न सक्ने कुरा कत्तिको सान्दर्भिक लाग्ला भन्न सकिँदैन, तर यसरी पनि खेती हुँदै आएको छ । जापान, अमेरिका, ईन्डिया जस्ता देशमा हाइड्रोपोनिक्स प्रणालीले व्यावसायिक खेती हुँदै आएको छ । विज्ञान र प्रविधिले कृषि क्षेत्रलाई निकै विस्तार र परिस्कृत गरिसकेको छ । पढेलेखेको मान्छे कृषक बन्नु हुन्न भन्ने सोच राख्ने हाम्रो समाजको ठीक विपरीत विकसित मुलुकहरुमा पढेलेखेको मान्छेले गर्ने सम्मानित पेशा बनेको छ आजको कृषि ।

 

नेपालको कूल भुभागको २८.७५ प्रतिशत खेतीयोग्य जमिन छ, जसको ७ प्रतिशत जमिन बाँझै रहन्छ[9]।नेपाल र नेपालीको भविष्य कृषिमै सुनौलो छ । तर विडम्बना के छ भने, कस्तुरी आफ्नै नाभीमा भएको सुगन्ध खोज्न भौतारिए झैँ हामी पनि आफ्नै देशमा भएको विकासको सुगन्ध अन्त खोज्दै छौँ । व्यवसाय र उद्यमलाई अक्सर अर्थतन्त्रको ऋण भनिन्छ, त्यसैले कृषि क्षेत्रलाई पनि व्यवसायको रूपमा ढाल्नुपर्दछ। कृषिमा उद्यमशीलता भनेको पशुपालन र खेतीपातीमा मात्र सीमित नभई पुष्प व्यवसाय, माछा पालन, जडीबुटी, रूख खेती, कृषि पर्यटन, कृषि सामग्री उत्पादन आदि अवसरहरू यथावत छन् ।

 

कोरोना पश्चात विकसित मुलुकले फेरि चन्द्रमामा जाने सामर्थ्य राख्लान् तर नेपाल जस्तो गरिब देशले आफ्नो अवस्था बुझेर सो अनुसारको काम गर्न अति आवश्यक छ । अहिलेको हाम्रो अवस्था भन्नुपर्दा हामी बिहान बेलुकाको खानामा पनि परनिर्भर छौ ।कोरोनाले सबै मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने अवस्था सिर्जना गरेको छ, जुन अब कृषिबाट मात्र सम्भव देखिन्छ। बिदेशबाट रेमिट्यान्स पठाउने देखि लिएर देशमै रोजगार गर्ने कतिले अब रोजगार गुमाउने हुन् सोचेरै कहाली लाग्छ । करकारखाना न्यून छन् र ती पनि ठप्प छन्। पर्यटन व्यवसाय लगभग धरासयी भएको छ । यसले गर्दा मुलुकको कूल गार्हस्थ उत्पादन पनि स्वतः कम हुन जाने देखिन्छ । हामीसँग कृषिको लागि निकै अनुकूल हावा, पानी र माटो छ । कोरोनाले भन्दा खान नपाएर धेरै मान्छे मर्दै छन्। अब पनि हामी कृषि क्रान्ति गर्न तर्फ लाग्दैनौँ भने नेपाल र नेपालीको अवस्था एकादेशको कथा हुन धेरै समय भने लाग्दैन । त्यसैले आफ्नो अस्तित्व जोगाउनु छ भने हे कृषि प्रधान देशका नागरिक हो! किसान बनेर हेर ।

 

स्रोत : 

[1] (आर्थिक सर्वेक्षण , २०७६/ २०७७)

[2] (आर्थिक सर्वेक्षण , २०७६/ २०७७)

[3]  (आर्थिक सर्वेक्षण , २०७६/ २०७७)

[4]Roof top Farming

[5] Sack Farming

[6]Vertical Farming

[7]Hydroponics system

[8]aeroponics

[9]  (World Bank , 2016)


Comments

Popular posts from this blog

डडेलधुरामा आलु खेतीः मेरो एक संक्षिप्त अवलोकन

बाहुनकि छोरी